Saturday, April 11, 2015

दरवाङ बजारमा विद्युत सुबिधा विस्तार

दरवाङ, २८ चैत्र ।

म्याग्दीको दोस्रो सदरमुकामको रुपमा मानिएको पश्चिमी क्षेत्रका ब्यापारीक केन्द्र दरवाङमा शनिबार केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा विस्तार गरिएको छ । उपभोक्ता, जिल्ला विकास समिति, विद्युत प्राधिकरण, गाविस कार्यालयको सहयोग तथा ऋण गरि कुल ७२ लाख ३८ हजार ४७० रुपैयाको लागतमा सम्पन्न उक्त विद्युतीकरण योजनाबाट दरवाङ गाविसको १ र २को साथै देविस्थान ९ थापाचौर र रानीबासका २४७ घरमा विद्युती सुबिधा पुगेको छ । उपभोक्ताको २६ लाख ७८ हजार ९९१, जिविसको गत आर्थिक वर्षको १५ लाख, विद्युत प्राधिकरणको गत वर्षको दुई लाख ८० हजार सामाग्री सहयोग, दरवाङ गाविसको दुई लाख, देविस्थानको ५० हजार र विबिध आम्दानी ६ हजार तथा आठ लाख रुपैया ऋण खर्च भैसकेको छ । जिल्ला विकास समितिले चालु आर्थिक वर्षमा बिनियोजन गरेको २० लाख र विद्युत प्राधिकरणले बिनियोजन गरेको १० लाख प्राप्त हुन बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ । ९२ वर्षिय पदमपाणी सापकोटा, सभाषद्द्धय नवराज शर्मा र रेशमबहादुर बानियाले बिजुली बत्ति बालेर योजनाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य व्यक्त गर्दै सभाषद् शर्मा र बानियाले विद्युतीकरणसंगै दरवाङ बजारको थप विकासमा टेवा मिलेको बताउनुभयो ।

तस्विर :  म्याग्दी अनलाइन डट् कम 

उहाँहरुले विद्युतीकरणका लागि उपभोक्ताले गरेको योगदान सहनीय भएको भन्दै दरवाङको अन्य वडा तथा छिमेकी गाविसहरुमा पनि विद्युत सुबिधा बिस्तारका लागि पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सहसचिव अजयमिलन श्रेष्ठ, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद् सदस्य तथा पुर्व सभाषद् गोविन्द पौडेल, राप्रपाका एकेन्द्र रावल र राष्ट्रिय जनमोर्चाका छवी बिकले मन्तब्य व्यक्त गर्नुभएको थियो । दरवाङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष बिरबहादुर कार्कीको अध्यक्षता, सचिव मोतीराज गौतमको सञ्चालन र सदस्य मेखबहादुर बुढाको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष गौमती चापागाईले आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने दरवाङ गाविसका सचिव शिव शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment